जिन्दगीको परिभाषा
रचनाकार : डा. रविन्द्र समीरल नानी हो केही सोध्नुछ भने आफ्नो स्थानमा उठेर प्रश्न राख पैँतालीस मिनेटको कक्षामा चालीस मिनेट पढाएपछि मैले विद्यार्थी सामु आफ्नो योग्यता दर्शाउने प्रयत्न गरेँ। रोजगारीको लागि प्राथमिक विद्यालयको शिक्षक भए पनि एम.ए. मा प्रथम श्रेणीको प्रमाणपत्र प्राप्त व्यक्ति भएकोले मेरो अहम्वाद अरूको भन्दा उच्च नै थियो।
सर जिन्दगीको परिभाषा के हो? दुब्लो तर कुशाग्र मेधाशक्ति भएको राजुले अनपेक्षित प्रश्न तेर्स्यायो। जिन्दगी भनेको ................भोलि बताउँला है। – ठोस परिभाषा मेरो स्मृतिपटलमा नआएकोले सस्वेद उम्कने प्रयत्न गरेँ।
विद्यालयको छुट्टी भएपछि सबै शिक्षक तथा विद्यार्थीहरू जेलमुक्त कैदीजस्तै हलुङ्गो मन लिएर घरतर्फ लागे। तर मेरो मथिङ्कलमा राजुको प्रश्नले शासन जमाइरहृयो।
साहुजी जिन्दगी भनेको के हो?
– पैसा कमाउने, घर घडेरीहरू जोड्ने, ब्याजको स्याज उठाउने, सुनचाँदी थुपार्ने .......त्यही हो मास्टरबाबु।
नेताजी जिन्दगीको परिभाषा के होला?
– मौकामा चौका हान्ने, अग्रज एवम् सहयोद्धाको खुट्टा तानेर भए पनि आफू माथिल्लो पदमा पुग्ने, सांसद, मन्त्री बन्ने, महल, पजेरोमा शयर गर्ने, विदेश घुम्ने .........जिन्दगी नै त्यही हो सर।
माफ गर्नुहोला, प्रेम कपोतहरू जिन्दगी भनेको के हो?
– जिन्दगी भनेकै प्रेम हो। प्रेम गर्नु, एकान्तलाप गर्नु, मायाको सागरमा डुब्नु, प्रीतिको हिमाल चढ्नु, प्यारमा बाँच्नु, प्यारमै मर्नु .......।
जिन्दगी भनेको के हो सोमहरू?
– जुवातास खेल्नु, रक्सी पिउनु, ठिटी जिस्काउनु, घुम्नु, फिर्नु ......। दुई दिनको जिन्दगीमा मरेर लानु के छ र?
किसान दाई जिन्दगी भने के हो?
– खै के भन्नु बाबु कुखुरो बासेदेखि जून लाग्ने बेलासम्म खन्नु, जोत्नु, भारी बोक्नु...., साहुको धम्की सुन्नु, वर्षैपिच्छे तमसुक थप्नु, एक गाँस र एकसरो कपडाका लागि जीवनभर हाड घोट्नु ....यही नै जिन्दगी हो बाबु ..............................................................
एवम् प्रकार मान्छेपिच्छेका पृथक् परिभाषा सुन्दा मैले जिन्दगीको ठोस एवम् सर्वस्वीकार्य परिभाषा तय गर्न सकिनँ र अर्को दिन बिरामी बिदा लिएर घरमै बसेँ।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण