सुन्दरी प्रतियोगिता
रचनाकार : केशु बिरहीदीनवन्धु वाजे पहिलो पटक शहर देखे। शहरको पनि महा शहर काठमाण्डौको वानेश्वरमा पुगे उनी। ज्यादै भिडभाड थियो। संधै पनि भिडभाड हुने ठाउँ नै हो त्यो। यस्तो विध्न भिड त उनले कहा देखेका थिए र। ताप्लेजुङ्ग त्यसै विकट जिल्ला। त्यसमा पनि झनै विकट गाउँ लेलेपका वासिन्दा। गाउँबाट पहिलो पटक शहर पसेका हुनाले उनले धेरै कुरा ठम्याउनै सकेनन। अड्कल काट्नै गाह्रो भइरहेको थियो।
काठमाण्डौ त सोचेको भन्दा धेरै फरक पाए दिनवन्धु वाजेले। आफूले सोचे जस्तो मात्र रहेनछ काठमाण्डौ त। कल्पनाले नभ्याउने खाल्को रहेछ। उनी तीन छक्क परे यस्तै सोचेर। रात्री बसको यात्रा गरेर आएको हुनाले थकाई तथा गाडीको धङधङी पनि त्यतिकै थियो। मोटरले उनलाई गौसालामा पुर्याएर छाडिदियो। उनी सोध्दै खोज्दै वल्ल वल्ल वानेश्वर आईपुगेका थिए।
झण्डै त्यतिखेर मध्याहान्न भैसकेको हुदो हो उनी त्यहा आईपुग्दा। भीड झनै वढ्यो। के रहेछ भनेर उनी पनि त्यतै भिडतिर हानिए। गाडीका तातीहरु त्यतै गैरहेका थिए। त्यहा आएका गाडी मद्येमा केही झ48डावाला गाडी पनि थिए। त्यस्तो झण्डावाला गाडी पनि उनले पहिलो पटक नै देखेका हुन। हेर्दा हेर्दै मानिसहरु गाडीहरुबाट ओर्लिए र एउटा मञ्को अगाडि सजाएर राखिएका कुर्सीमा वस्न पुगे। दिनवन्धुलाई पछि मात्र थाहा भयो कि ती झण्डा सहितका गाडीमा त मन्त्रीहरुको पो सवारी भएको रहेछ। क्षण भरमै मञ्चको पर्दा खुल्यो। पर्दाखुल्ने वित्तिकै केही अर्ध नग्न शरीर भएका महिलाहरु देखा परे। तिनीहरु गए। फेरि अरु आए। यो क्रम चलिरह्यो। पछि आउनेहरुका त झनै कपडा छोटिन थाले। हुदा हुदै अवत झन झन कपडा छोटिईदै जादा अव त शरीरको दुई स्थानमा मात्र साना टुक्रा कपडा लगाएका महिलाहरु आउन थाले। उनी लाजले रातो पिरो भए। तर त्यहा सवै मानिसहरु रमाईलो मानेर ताली वजाई रहेका थिए। भनिरहेका थिए त्यो केटी कति च्वाक रैछे यार। यसपटकको प्रतियोगितामा त यही केटी प्रथम हुनु पर्छ। उनको नजिकै वसिरहेको एउटा भलाद्मी जस्तो मानिस वोल्यो –होईन यार त्यसको शरीर त्यति मिलेको छैन। भ्यात्त परेको छ। अलि अघि आएकी केटी राम्री थिई। त्यही नै हुनु पर्ने हो।