बन्दका कथा

रचनाकार : डा. रविन्द्र समीर


सडकको छातीमा गुडिरहेका गाडीहरूमा एक्कासि ब्रेक लाग्यो। साना गाडी तथा मोटरसाइकलहरू दायाँबायाँ भाग्न थाले। ठूला गाडीहरू बाटोमा तेर्सिएर आवागमन बन्द भयो। पसलका सटरहरू बन्द हुन थाले। विद्यार्थी पुर्‍याउने गाडीहरू तथा सिकिस्त बिरामी बोकेका एम्बुलेन्सहरू बीचमा फसे। सडकमा टायरहरू बल्न थाले, सवारी साधनहरूको तोडफोड सुरु भयो।
'कारण के रहेछ?' म बुझ्ने प्रयत्न गर्दछु। 'उपत्यका बन्द' निराश हुँदै रित्तो गाडीहरूको चालकले जवाफ दियो। अर्को चालकसँग जिज्ञासा पोखे– अघिसम्म त केही थाहा थिएन, बन्दबारे। 'खै! भर्खर सुरु भएको' रे! कारण चाहिँ थाहा भएन– उसले चिसो उत्तर दियो।
मोटरसाइकल साइडमा राखेर भीडभित्र पसेर तोडफोडमा सक्रिय युवकहरूलाई बन्दको कारण सोधेँ– बिचरालाई थाहै रहेनछ। 'सायद ठूलै घटना भएको हुनुपर्छ' भन्ने सोचेर उत्सुक हुँदै अझभित्र प्रवेश गरेँ। खै! थाहा भएन तर बन्दछ'– सबैको साझा उत्तर।
करिब एक दर्जन केटाहरूको बीचमा उभिएर निर्देशन दिइरहेको मोटो मान्छेलाई सोधेँ– सर! आज के को उपलक्ष्यमा बन्द हो?' ऊ फत्फताउन थाल्यो– त्यस्तो गर्न पाइन्छ? हाम्रो पनि ज्यान हो, बैङ्कमा बगर धितो राखेर किनेको गाडी हो र?...??
के भयो? कसले के गर्‍यो? मोटेको मुखबाट जवाफ फुत्कियो– कालो बिरालोले बाटो काट्न पाउँछ?


त्यसपछि बिराला एवं न्याउरी मुसाहरूले संयुक्त बैठक आयोजना गरे। हामी पिछडिएका तथा सीमान्तकृत वर्गलाई हेप्न पाइन्छ? हामी पनि आफ्नै कामले एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दछ। कि त सरकारले हाम्रो लागि छुट्टै बाटो, आकाशे पुल वा टनेल मार्ग बनाइदिनुपर्‍यो, कि त हामीमाथि लागेको अशुभ साइत बिगार्ने ... जस्ता बिल्लाहरू फिर्ता गर्नुपर्‍यो।
नत्र ... हामी सबै सडकमा ओर्लिएर नेपाल बन्द गर्छौं। हामी पनि हेर्छौं कसरी चल्दा रहेछन् गाडी?


'यो महिना साह्रै खल्लो भयो– नुनविनाको तरकारी जस्तो जुनविनाको आकाश जस्तो खुनविनाको शरीर जस्तो, सुनविनाको गहना जस्तो, ऊनविनाको स्वीटर जस्तो ...।' उसको अनुहारमा निराशा र अभावको रङ पोतियो।
दसैँ नआए जस्तो, तिहारले बिर्सेजस्तो, छठले छोडेजस्तो, तीज छुटेजस्तो... कस्तो! कस्तो!!
किनकि यो महिनामा बन्द एकपटक पनि भएन।


'सहनुको पनि हद हुन्छ यार! हामीले के गल्ती गरेका छौँ र हामीलाई ढालिन्छ?' बन्दको अभियानमा ढलेका रोड डिभाइडरले आक्रोश पोखे।
'हाम्रो के दोष छ?' रेलिङले आर्तनाद गरे।
'हामीले त झन् पारदर्शी भएर यात्रुलाई जाडो, गर्मी आदिको पनि ख्याल गरेका छौं।' गाडीका शिशाहरू निराश भए।
'हरेक आन्दोलनमा हामीहरू सती जानुपर्ने, जलेर खरानी हुनुपर्ने!' टायरहरूले आक्रोश पोखे।
'हामी सबैका साझा हौँ तर हामीमाथि किन ढुङ्गामुढा?' भौतिक संरचनाहरू चुर भए।
बाटो रातो हुने गरी टुक्रिएका इँट्टाहरूले निचोड निकाले साथीहरू! हामी बोल्दैनौँ, विरोध गर्दैनौँ, बदला लिँदैनौँ– केवल चुपचाप सहेर बस्दछौँ तसर्थ हामी नै तोडफोडको शिकार भएका छौँ। अन्याय गर्ने र सहने दुवै अपराधी हुन् तसर्थ अब हामीले मुखको ताल्चा खोल्नुपर्छ, हातमा जमाएको दही पोख्नुपर्छ...।



डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)

  1. बन्दका कथा
  2. ढुङ्गाको देवता
  3. राशिफल
  4. लाइसेन्स
  5. के छ पारू?
  6. आगो
  7. ब्रिफिङ
  8. दुर्व्यसन
  9. अनुभूति
  10. कालोपट्टी
  11. भाग्य
  12. पोइटिङ्ग्रे
  13. ईर्ष्याको खेती
  14. ढङ्गाको मन
  15. पलायन
  16. चिडियाखाना
  17. अनुत्तरित प्रश्नहरू
  18. हिउँको मन
  19. गाउँ र सहर
  20. रक्सी
  21. नियम
  22. सफलता
  23. सुनामी
  24. बाजा
  25. आराम
  26. पुरस्कार
  27. समाजको ऐना
  28. झाँक्रीसाइँला
  29. जाडोको लुगा
  30. हरिलठ्ठक
  31. सलाम र फलाम
  32. जिन्दगीको परिभाषा
  33. शव परीक्षण