ढुङ्गाको देवता
रचनाकार : डा. रविन्द्र समीरलेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो। अनि अलिकति अबिर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङ्गिबिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्यो – हे प्रभु मेरो छोरोलाई निको बनाउ, सके कालो बोको नसके लोकल कुखुरो चढाउँला।
अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउँदा दूध बाहिर झरेको थियो।
बच्चालाई कठैवरा विचरा भन्न उसको घरमा आफन्तहरूको भीड लाग्यो, त्यहाँ भन्दा ठूलो भीड ढुङ्गाको वरिपरी लाग्यो – पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आर्शिवाद लिन।
त्यही रात आकाशबाट उदीयमान एउटा तारा झर्यो, सृष्टिको रोलक्रम अनुरुप उसको पालो मिचियो। बलिन्द्र धारा आँसु बहाउँदै मनासघाटमा छोरालाई कणकण बनाएर ऊ रुँदै फर्कियो, उसको जीवनमा सुनामी आयो।
उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पुजित ढङ्गा अर्थात् देवताको मूर्ति पखाल्यो अनि पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो।
भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साँइलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लगेर बीस रुपियाँमा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फर्क्यो।
उसलाई आफ्नो दोस्रो सनकप्रति गर्व लाग्यो – मैले गर्दा आज कसैको पेटमा अन्न त पर्यो।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण