चेकिङ
रचनाकार : कपिल लामिछानेएक्काइसौं शताब्दीको प्रथम प्रहर!
देशमा सङ्कट थियो। तार, ढुङ्गा, मुढा, टायर राखेर राजमार्गलार्र्ई ठाउँठाउँमा अवरुद्ध तुल्याइएको थियो। आउजाउ गर्न सारै असुविधा थियो। ठाउँठाउँमा हुने सुरक्षा–जाँचबाट यात्रुहरू आहत भएका थिए।
भरखर एक ठाउँको सुरक्षा–जाँच सकेर बसहरू लामबद्ध भई राजमार्गमा गुडिरहेका थिए। अकस्मात् लामको अगाडि रहेको बस घचक्क रोकियो। क्रमशः त्यसपछिका बस, ट्रक, भ्यान, जिप र कारहरू पनि सडकमा रोकिए। राजमार्गमा लामो लाम लाग्यो। मानिसहरूमा जिज्ञासा र कौतूहल जाग्यो।―
– फेरि चेकिङ!
– अरे! फेरि चेकिङ?
– कति चेकिङ!?
– भरखर भएको हो चेकिङ! फेरि केको चेकिङ?
– सरप्राइज चेकिङ होला!
– चेकिङ छ भनेर जानीजानी पनि कसैले ल्याउँछ?.... बेबकुफ!
यात्रुहरूमा छटपटी सुरु भयो। गजब त के थियो भने उताबाट पनि कुनै वाहन आइरहेको थिएन। मानिसहरूमा थरिथरिका आशङ्का देखापरे।–
– उताबाट कुनै गाडी किन आएन?
– उता कतै पक्का मुठभेड छ होला!
– देश त पूरै ध्वस्त भयो!
– अँ यार, खतम! नेताहरू सब खतम!
– केटाहरू पनि खतम!
टाइम–पास–गफ भइरहेका थिए। धेरै बेरपछि विपरीत दिशातिरबाट गाडीहरू आए। अगाडिको गाडी हिंड्यो। हाम्रो गाडी पनि हिंड्यो। अरू गाडी पनि गुडे।
पछि पो थाहा लाग्यो, चेकिङ होइन रहेछ, बिरालाले बाटो काटेको रहेछ।
आखिर चेकिङ त चेकिङ नै रहेछ! हाम्रो विश्वासको चेकिङ!