शव–यात्रा

रचनाकार : कृष्ण शाह यात्री

उसले जहिले पनि मौलिक र स्वदेशी नाटक मात्र मञ्चन गर्‍यो। नाटकमा भनेर नै उसले आफन्त भनेन, परिवारलाई समय दिएन, जागिरतिर दौडिएन। उसको अवस्था दिनप्रतिदिन खस्किदै गयो र अन्ततः जीवनको रथ राम्ररी चलाउन नसकेर ऊ सडकको पात्र बन्यो।

उसले नुन, चिनी, पानीको विज्ञापन नाटक गर्‍यो। गैर सरकारी संस्थामा धाएर भए पनि उसले नाटकका लागि रकम छुट्याउन सहमत गरायो। उसलाई रङ्गमञ्च भाँडेको आरोप लाग्यो। बिकासे नाटक गरेको बात लाग्यो। उसको यो कुराको खासै मतलव गरेन। यसपछि उसको आर्थिक स्थितीमा केही सुधार आयो। उसको हिमचिम राजदुत, विदेशी मित्रहरू र माथिल्लो तहकाहरूसँग उठबस हुन थाल्यो।

यसपछि उसले विदेशी नाटकहरू मञ्चन गर्न थाल्यो। नेपाली नाटकको मौलिकतालाई थाङ्नामा सुताउँदै उसले विदेशी शैलीलाई पूर्ण रूपमा अनुशरण गर्‍यो। उसलाई डलरको खेती गर्ने बात लाग्न थाल्यो। मानव ओसार पोसार गरेर कालो धन थुपारेको बात समेत लाग्यो। “काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ” भने झैं उसले यी कुरालाई पनि मतलव गरेन। यसपछि उसले आफ्नोस्तर आफै निर्धारण गर्‍यो। आफूलाई सर्वेसर्वा घोषित गर्‍यो। आफ्नो नाममा दुई/चार रङ्गमञ्चीय पुरस्कार समेत स्थापना गर्‍यो र आसेपासेहरूलाई बाँडेर खुशी तुल्यायो। दुईचारलाई देश/विदेशको सैर पनि गरायो। उसको कर्तुतले सारा संसार लज्जित भयो तर ऊ लज्जित भएन।

अन्ततः उसले जीवनको रङ्गमञ्चबाट नै विश्राम लियो। उसको शवयात्रामा साथ दिने मलामीहरू झनो संख्यामा मात्र थियो। उसले टाढा क्षितिजबाट नियालीरहेको थियो। यतिबेला को–आफ्नो? को पराई? उसले छुट्याउन सकिरहेको थिएन।



कृष्ण शाह यात्री का यस साईटमा प्रकाशित रचना (हरु)

  1. शव–यात्रा
  2. सेता परेवाहरू
  3. सालिकको मृत्यु
  4. पहिचानको खोजी
  5. सर्वज्ञ र नरमांश
  6. अन्तिम प्रश्न
  7. जङ्गे पिलर
  8. अतृप्त भोक र मान्छेहरू