ढुकुर र कौवा
रचनाकार : हरिप्रसाद भण्डारीजङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेली लगायत विभिन्न जातका चराचुरुङ्गीहरू बस्थे। वर्षा सुरु हुनुपूर्व सबैले गुँड बनाउँथे, फूल पार्थे र चल्ला कोरलेर हुर्काउँथे। उनीहरूको समूहमा बस्ने कौवा अलि धु्रत थियो। अन्य चराचुरुङ्गीहरू चारो खोज्न गएको मौका पारेर गुँडमा भएका फुल र साना चल्ला खाइदिन्थ्यो। यसले गर्दा चराचुरुङ्गीहरूलाई फुल कोरल्न र चल्ला हुर्काउन निकै कठिन भएको थियो।
एकदिन कौवा नभएको मौका पारेर चराचुरुङ्गीहरूले सल्लाह गरे। कौवाले नदेख्ने ठाउँमा गुँड बनाउने सहमति भयो।
* * * * *
“ढुकुर ढुकुर कुर कुर कुर ................................।”
“कस्तो मीठो आवाज! सधैं सुनिरहुँझैं लाग्ने। अग्लो रुखको डालीमा बसेर आनन्दले कराइरहेको ढुकुरका छेउँमा बस्दै कौवाले भन्यो।
आफ्नो प्रशंसा सुनेर ढुकुर दङ्ग पर्यो अनि कौवातिर फर्केर 'के मेरो आवाज त्यति राम्रो छ र' भन्यो।
“कोइलीको भन्दा पनि मीठो। आवाज पनि मीठो, रुप पनि राम्रो। तर म त कस्तो अभागी! न आवाज मीठो छ न रुप नै राम्रो।” विरक्त मान्दै कौवाले भन्यो।
ढुकुरले एकोहोरो पाराले कौवालाई हेरिरहेको थियो। कौवाले निकै दुःखी भावमा अगाडि थप्योे― “यो आवाज सधैं सुन्न पाए पो.........। तर के गर्नु तपाईहरू कहाँ बस्नुहुन्छ थाहै छैन।”
“ऊ त्यै पल्लो खोलाको ठूलो रुखमा त बस्छौं नि ..।” ढुकुरले दायाँ बाँया केही नसोची भन्यो।