सेता परेवाहरू
रचनाकार : कृष्ण शाह यात्रीएउटा सेतो परेवा एकाबिहानै चारोको खोजीमा गुँडबाट बाहिरियो। स्वच्छ आकाशमा कावा खाँदै परेवा निकै माथि पुग्यो।
उड्दा–उड्दै परेवा कालो धूँवाको मुस्लोभित्र पस्यो। कालो धूँवाभित्र परेवाले हत्या, आतङ्क, बलात्कार, हिंसा, अशान्तिका थुप्रै दृश्य देख्यो। केही समयपश्चात ऊ विचलित हुँदै बाहिरियो।
बाहिर निस्कँदा कालो मुस्लोले गर्दा सेतो परेवा पनि कालोमा परिणत भइसकेको थियो।
बेलुकी गुँडमा फर्कदा त्यस परेवालाई कसैले पनि चिनेनन् र शत्रु ठानी परिवारभित्रै नै काटमार शुरू भयो।
अचेल सेता परेवाहरू कालो हुने डरले आकाशमा उड्न छाडेका छन्।