उपदेश
रचनाकार : हरिप्रसाद भण्डारीमूलबाटोको नजिकै जङ्गलका बीचमा एउटा आश्रम थियो। आश्रममा एकजना बालब्रह्मचारी सन्यासी बस्थे। ज्ञान, ध्यान, भक्ती र प्रवचनमै उनको समय बित्थ्यो।
गाउँलेहरूको सहभागितामा प्रवचन कार्यक्रम चलिरहेको थियो। प्रवचनका क्रममा उनले भने― “पारिवारिक जन्जालमा फस्नाले जीवनको महत्व घट्दै जान्छ। ज्ञान, ध्यान, तप, दान, त्याग आदि कार्य गर्नाले स्वर्गीय आनन्द प्राप्त गर्न सकिन्छ, अन्त्यमा मोक्ष प्राप्ति हुन्छ।”
साँझ आश्रमभित्र रहेको अग्निकुण्डको छेउमा एक्लै बसेर धुनी तापिरहेका थिए। बाहिर सिमसिम पानी परिरहेको थियो। वर्षाको पानीले रुखका पात बज्दा संगीतको धुनजस्तै सुनिन्थ्यो।
“को हुनुहुन्छ भित्र?” बाहिरबाट नारी आवाज आयो।
उक्त आवाजले योगी झस्किए। 'को हुन सक्छ यस्तो रात्रिमा?' उनले आफैसँग जिज्ञासा राखे। समाधान निस्केन अनि आवाज निकाले― 'को हो बाहिर?'
“म हुँ, बाटो बिराएकी पथिक।” बाहिरबाट आवाज आयो।
योगी बाहिर निस्के र हेरे। कुटीको आँगनमा एउटी युवती उभिएकी थिइन्। आकाशबाट वर्षदै गरेको पानीले उनको शरीर पूरै भिजिरहेको थियो।
सन्तले आगन्तुकलाई भित्र पस्न अनुमति दिए। युवतीले अग्निकुण्डको डिलमा बसेर आगो ताप्दै आफ्ना भिजेका लुगा सुकाउन थालिन्।
अर्कोदिन सन्तले प्रवचनमा भने―
'पारिवारिक जीवनलाई नराम्रो नै भन्न पनि सकिदैन। ज्ञानी पुरुष तथा महिलाहरूले पारिवारिक जीवनमा रहेर पनि ज्ञान, ध्यान, भक्ति आदि गर्न सक्छन्। यसरी गरिएको कर्म झन् परिपक्क हुनसक्छ।