सक्रिय उद्धार

रचनाकार : गोरखवहादुर सिंह

काठमाडौं-मुग्लिङ सडकको मर्मत र विस्तार कार्य भर्खर्रभर्खर सकिएको थियो । सडक चिल्लो र चौडा थियो । त्यही चिल्लो सडकमा गुड्दै गरेको चिल्लो गाडी एउटा स्कुले बालकलाई बचाउन खोज्दा सडकबाट करिब दुइ सय फिट तलको नदी किनारको बगरमा उत्तानो पर्न पुग्यो ।

उक्त चिल्लो गाडीको पछिपछि आइरहेका बसबाट उद्धार कार्यका लागि यात्रु ओर्लिए । तर गाडी पल्टिएको बगरमा पुग्ने बाटो अप्ठेरो थियो, ठाडो भीरमा खुट्टा राख्ने ठाउँ बनाउँदै ओर्लनु पर्ने । त्यसैले उद्धारकर्मीमा युवाहरूको बाहुल्यता थियो ।
उद्धारकर्मीले घायल युवतीको कोरिएको निधारको रगत पुछे, उनको कम्मरमा अलिकति छाला खोस्रिएको रहेछ, घाउलाई कमिज फुकालेर साफ गरे, उनको छातीमा लागेको हिलोलाई रुमाल भिजाएर पुछिदिए । दुर्घटनाको कारणले होला युवती काप्दै थिइन् । केही उद्धारकर्मीले आफ्ना ज्याकेट ओडाएर न्यानो पार्ने प्रयास गरे । उनीहरू युवतीको उद्धार कार्यमा सक्रियतासाथ लागिपरेका थिए ।
हात खुट्टा भाँचिएर हलचलसम्म गर्न नसक्ने भएको युवक नजिकै एक्लै छट्पटाइरहेको थियो, उसकी श्रीमतीलाई गरिदै गरेको सक्रिय उद्धार कार्य हेर्दै ।



गोरखवहादुर सिंह का यस साईटमा प्रकाशित रचना (हरु)

  1. सक्रिय उद्धार
  2. रुप्सेकुवा
  3. होड
  4. जोडिएको घर
  5. धर्म निर्वाह
  6. कार्यालय सरेको सूचना
  7. काँचो हलुवाबेद
  8. पेन्सन डे
  9. निरन्तरता