लगानी

रचनाकार : विनय कसजू

२०४२ साल
'फिस किन नल्याएकी सानी?'
'बा घरमा हुनुहुन्न।'
'बिचरा! तिम्रो बलाई जेलमा राखेको छ रे हो?'
'हो मिस, मलाई साथीहरुले कैदीकी छोरी भनेर जिस्क्याउँछन्।'
'किन जेलमा राखेको थाहा छ तिमीलाई?'
'पञ्चायतको विरोध गरेकोले भन्थे।'
'तिम्री आमा के गर्छिन् त?'
'अरुको घरमा काम गर्छिन्।'

२०४७ साल
प्रजातन्त्रका सेनानीको सम्मान
'पञ्चायतको कालकोठरीमा छ महिना बिताउनु भएका, प्रजात्नत्रको लागि अथक सङ्घर्ष गर्नु हुने योद्धा श्री लालध्वजजी र उहाँको परिवारलाई सम्मान गर्न पाएकोमा हाम्रो विद्यालय गौरव गर्दछ।'

२०५५ साल
'हाई सानी'
'हाई'
'तिम्रो ड्याड राजदूत हुने रे हो? कङ्ग्य्राट्स।'
'राजदूत मात्रै त हो। छ महिना जेल बसकोले राजदूत भएको भन्छन्। छ वर्ष बसेको भए त मन्त्री भै हाल्नुहुन्थ्यो। कस्तो बोर भयो यार।'
'क्या बोर हगि? जाउँ बियर खाउँ।'



विनय कसजू का यस साईटमा प्रकाशित रचना (हरु)

  1. दयालु सेठ
  2. गरीबको कथा
  3. लगानी